३० असार २०७७, मंगलवार २१:१७  


image

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट बिदा गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन्।

२०७ औं भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले अयोध्याको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि नेता थापाले ट्विटमार्फत यस्तो लेखेका हुन्। ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले जे पनि बोल्ने प्रधानमन्त्रीको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रूपमा लिएको मैले पाएँ।

मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्त्र र राजनीतिक स्टन्ट हो।’ प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै नेता थापाले लेखेका छन्‚ ‘प्रमलाई राम्रोसँग थाहा छ‚ यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।’

प्रधानमन्त्री ओली आफ्नो सत्ता स्वार्थका लागि जुनसुकै प्रचञ्च रच्न तयार रहेको प्रष्ट भएको भन्दै उनले भनेका छन्‚ ‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रुपमा नलिऔं।

यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।’ प्रधानमन्त्रीको अन्टसन्ट अभिव्यक्ति प्रत्युपादक भएपछि परराष्ट्र मन्त्रालयको वक्तव्य आएको र कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट देश र लोकतन्त्र सुरक्षित नभएको भन्दै थापाले भने‚ ‘प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो। प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक होइन भनेर नपन्छिन र उनलाई उक्त पदबाट बिदा गर्न सुझाव दिँदै थापाले भनेका छन्‚ ‘नेकपाका साथीहरू! राजनीतिक होइन भनेर नपन्छिनोस्, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।’


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन