२३ असार २०७७, मंगलवार ०९:४०  


image

स्वामीनाथन नटराजन, बीबीसी विश्व सेवा । पछिल्लो तीन महिनामा तपाईँ इन्टरनेटमा कति भर पर्नु भयो? कोरोनाभाइरसको महामारीका बेला यो धेरैका निम्ति महत्त्वपूर्ण सहयोग सावित भएको छ, दशौँ लाखलाई घरबाट काम गर्न, स्वास्थ्य परामर्श लिन र सम्पर्कमा रहन सहयोग पुर्‍याएको छ।

अन्य दशौँ लाख मानिसको निम्ति उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट या उपलब्ध छैन वा धान्न नसकिने छ। कोरोनाभाइरसका कारण लगाइएको लकडाउनले इन्टरनेटमाथिको निर्भरतालाई तीव्र बनाएको छ र त्यसले असमानता एवम् जीवनका अवसरमा पारेको प्रभावलाई उजागर गरेको छ।

यसले आधारभूत मानवअधिकारको रूपमा इन्टरनेटमा विश्वसनीय पहुँचका निम्ति अभियान चलाउन ताजा प्रेरणा दिएको छ।

पढाइमा अप्ठेरो

नमिथा नारायणन सम्झिन्छिन्, “म आफ्नो घरको वरिपरी र छिमेकमा जान्थेँ, विभिन्न ठाउँमा गएर प्रयास गर्थेँ। तर राम्रो सिग्नल नै हुँदैनथ्यो।” दक्षिण भारतको केरलकी २० वर्षीय यी विद्यार्थीले वर्षौँदेखि इन्टरनेट र मोबाइल फोनमा खराब नेटवर्कका कारण हैरानी बेहोर्दै आएकी छन्।

उनी भन्छिन्, “जब मोबाइलमा फोन आउँछ, कुरा गर्न घरबाहिर निस्कनुपर्छ।” उनको गाउँमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरेनट सेवा छैन। मोबाइल इन्टरनेटमै भर पर्नु परेको छ।

लकडाउनमा धेरै मानिसले मोबाइल फोन र इन्टरनेटको प्रयोग गर्दा नेटवर्क व्यस्त रहन्छ। त्यसैले उनले प्रयोग गर्ने सेवा नराम्रोबाट अब झन् खराब बन्न पुगेको छ। उनको क्याम्पस जुन १ बाट खुलेको छ र पढाइ कक्षाकोठाबाट इन्टरनेटको प्रत्यक्ष प्रसारणमा सरेको छ। अहिले नमिथाले त्यो अवसर गुमाएकी छन्। उनी भन्छिन्, “मैले पढाएको हेर्न र सुन्न सक्दिन।

खराब नेटवर्कका कारण तनाव छ। इन्टरनेट सम्पर्क भयो भने पनि त्यो स्थिर हुँदैन।” राम्रो सुनियोस् भनेर उनले भिडिओ बन्द गर्छिन् तर पनि शिक्षकले पढाएको कुरा प्रस्ट हुँदैन। शिक्षकको प्रस्तुति बीचबीचमा टुटेर आउँछ। उनले भनिन्, “मेरा धेरै साथीहरूको समस्या यस्तै छ। केहीले नयाँ फोन किनेका छन् र सेवा प्रदायक परिवर्तन गरेका छन्।”

छानामा बसेर सिक्दै

लकडाउनका कारण नमिथाको निम्ति शिक्षामा पहुँचको एकमात्र माध्यम इन्टरनेट हो। किनकि उनी न पुस्तकालय जान सक्छिन् न कक्षा कोठामा। नमिथालाई उनका बुवाले भने, घरको छानोमा जाउ र प्रयास गर। उनले अरू बेला आँप टिप्न प्रयोग गरिने सिँढी चढेर गइन्।

उपायले काम गर्‍यो। उनले भनिन्, “छानामा गएपछि शिक्षकले पढाएको हेर्न र नोट गर्न सकेँ।” उनले जमिनभन्दा १० मिटर उचाइमा रहेको छानोमा हरेक दिन चार घण्टा बिताउँछिन्। उनको अनुभव छ, “मैले छाता पनि लग्छु किनकि कहिलेकाँही पानी पर्छ।” सरकारी सेवामा प्रवेश गर्ने उनको चाहना छ। त्यसको निम्ति उनले देशव्यापी प्रतिस्पर्धा गर्नुपर्छ।

उनका भनाइमा कमजोर इन्टरनेट सेवाले सहरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने अवसरमा बाधा पुर्‍याएको छ।

इन्टरनेटले दिएको लाभ

अहिले चार अर्ब मानिस इन्टरनेटको पहुँचमा छन्। स्मार्टफोनको लोकप्रियता र त्यसको प्रयोगको सामर्थ्य बढ्दो छ। त्यसले इन्टरनेट सेवा फस्टाउने बाटो खुला गरिदिँदा महत्त्वपूर्ण आर्थिक र सामाजिक लाभ सृजना गरेको छ।

उदाहरणको निम्ति यसले केही निकै गरिब समुदायका किसान र माछापालकलाई मौसम, बजार, सरकारी योजना र किटनाशक औषधीको नियन्त्रण जस्ता कुराको सूचनामा पहुँच दिएको छ। थोरै मानिसको बैङ्कमा खाता भएको म्यानमार जस्ता देशहरूमा मोबाइलबाट पैसा पठाउने प्रविधिले रकम पठाउन र लिन सजिलो बनाइ दिएको छ।

सन् २००० मा सीम कार्डको मूल्य झन्डै कारको जति नै पाँच हजार डलर थियो। अहिले नि:शुल्क पाइन्छ र बैङ्किङ प्रणाली रूपान्तरित भएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार त्यस्तो पहुँच गरिबी र भोकमरी निर्मूल, स्वास्थ्यमा सुधार र लैङ्गिक समानता प्राप्त गर्न महत्त्वपूर्ण सावित भएको छ।

डिजिटल विभेद

तर पहुँचको अवस्था निकै असमान छ। इन्टरन्याश्नल टेलिकम्युनिकेशन युनियनका अनुसार सन् २०१९ मा धनी देशहरूमा ८७ प्रतिशत मानिसमा इन्टरनेटको पहुँच रहँदा अल्पविकसित देशहरूमा त्यो सङ्ख्या १९ प्रतिशत मात्र थियो। उसकै तथ्याङ्कले विश्वका सबै क्षेत्रमा इन्टरनेट प्रयोगकर्ता महिलाभन्दा पुरुष धेरै रहेको देखाएको छ।

विश्वव्यापी इन्टरनेट प्रयोगकर्ताको औसतदर हेर्दा महिला ४८ र पुरुष ५८ प्रतिशत छ। तर अल्पविकसित देशमा हरेक चारजनामा एकजना पुरुष र हरेक आठ एकजनामा एकजना महिलाको मात्र इन्टरनेटमा पहुँच छ।

इन्टरन्याश्नल टेलिकम्युनिकेशन युनियनका वरिष्ठ रणनीतिक सल्लाहकार एलेक्स वोङ भन्छन्, “कम गति वा कमजोर गुणस्तरको इन्टरनेट प्रयोग गर्ने मानिसले काम गर्न र सिक्न, डिजिटल क्षमता बढाउन र राम्रो आम्दानी हुने जागिरका निम्ति अवसर बृद्धि गर्ने सम्भावना कम रहन्छ।” वर्ल्ड वाइड वेबका आविष्कारक टीम बेर्नर्स लीले पनि इन्टरनेटलाई थप समावेशी बनाउन तत्काल कदम चाल्न आग्रह गरेका छन्। राष्ट्रसङ्घको यसै महिना भएको बैठकमा उनले भने, “हाम्रो पहिलो ध्यान डिजिटल विभेद अन्त्य गर्नमा हुनुपर्छ।”

आधारभूत आवश्यकता

युनियनको प्रतिवेदन अनुसार करिब ७५ करोड मानिसहरू मोबाइल इन्टरनेटको पहुँचभन्दा टाढा छन्। त्यसको मूल्य धेरैका निम्ति बाधक बनेको छ। वोङ भन्छन्, “कम्तीमा १.३ अर्ब मानिस ती देशहरूमा बस्छन् जहाँ प्रारम्भिक चरणको मोबाइल डेटा योजना (प्रतिमहिना १ जीबी) उनीहरूको सामर्थ्यभन्दा टाढा छ।”

एलाइन्स फर अफोर्डेबल इन्टरनेट नामको संस्थाले सस्तोमा पहुँच पुर्‍याउन जोड दिँदै आएको छ। देशको औसत आम्दानीको दुई प्रतिशत भन्दा कममा एक जीबी डेटा उपलब्ध गराइनु पर्ने उनको मत छ। “इन्टरनेट सुविधा थप धान्न सकिने बनाउन निकै काम गर्न बाँकी छ,” उक्त संस्थाका अनुसन्धान प्रबन्धक टेडी वूडहाउस भन्छन्, “अहिलेको विश्वमा इन्टरनेटको पहुँच नहुँदा त्यसले तपाईँलाई ठूलो अवसरबाट बञ्चित गर्छ।

अब त्यो आधारभूत सार्वजनिक वस्तु र अधिकार हो भन्ने कुरा स्वीकार गर्नुपर्छ।” टीम बेर्नर्स लीका अनुसार कोरोनाभाइरसको महामारीका बेला अर्बौँ मानिसलाई इन्टरनेटले काम गर्न, सामाजिक सम्पर्क र अध्ययनको निम्ति ठूलो सहयोग गरे पनि साढे तीन अर्ब मानिस त्यसबाट बञ्चित भए।

उनी भन्छन्, “यो असमानता व्यापक समानताको बाधक हो र यसबाट त्यसै पनि अवसरबाट बञ्चित मानिसहरू धेरै प्रभावित छन्, न्यून आय भएका विकासशील देशका नागरिक र त्यसमा पनि महिला र बालिकाहरू।”

समान अवसर

केरलास्थित घरबाट कुरा गर्दै नमिथाले पनि सहमति जनाइन्। उनले भनिन्, “इन्टरनेट निकै शक्तिशाली साधन हो। यसको नेटवर्क नहुँदा पढ्न सम्भव छैन। हरेकले स्तरीय उच्च गतिको इन्टरनेट सुविधा उपयोग गर्न पाउनुपर्छ। त्यसपछि मात्र सबै मानिस पूर्ण समान बन्न सक्छन्।”

यो बेला नमिथाको भाग्य सुध्रिएको छ। उनले घरको छानोमा बसेर पढिरहेको तस्बिर बहिनीले सामाजिक सञ्जालमा राखेपछि त्यो भाइरल बन्यो। त्यसपछि इन्टरनेट सेवा प्रदायकका प्रतिनिधि उनको घरमा गएर नेटवर्क बढाइ दिए। जसले गर्दा पढ्न छानो उक्लिनुपर्ने उनको बाध्यता अन्त्य भएको छ। नयाँ सेवा पनि उनको कम्प्युटरमा वाइफाइ जोड्न त्यति राम्रो नभए पनि उनी शिक्षकसँग कुरा गर्न र फोनमा प्रश्न सोध्न पाएकोमा दङ्ग छिन्।

उनले भनिन्, “अहिले म शिक्षकले पढाएको भिडिओमा हेर्न सक्छु र इन्टरनेट कक्षामा पूर्ण रूपमा सहभागी हुन पाएकी छु।” तर ग्रामिण क्षेत्रमा बस्ने उनका सबै साथीहरूले त्यस्तो भन्न सक्ने अवस्था छैन।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

पर्सामा थप ७० जनामा कोरोना संक्रमण

 २७ श्रावण २०७७, मंगलवार ०९:१२  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन