कतारमा कोरोनाभाइरस संक्रमितको संख्या २६२ पुगेको छ : कतारमा कोरोनाभाइरस संक्रमितको संख्या २६२ पुगेको छ । दोहाको एक मार्केट बाट तीन जनामा देखिएको भाइरस पछी उनिहरुसंग घुलमेल भएकामध्ये क्वारेन्टाइनमा राखिएकोहरुमा भाइरस देखिएको मन्त्रालयले बताएको छ । भाइरस आज मात्रै २३८ जनामा देखिएको हो । हिजो सम्म कतारमा जम्मा २४ जना मात्रै संक्रमित थिए । क्वारेन्टाइनमा अझै ८०० जना रहेका छन् ।

भारतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट भारतमा पनि पहिलोपटक एक जनाको ज्यान गएको छ। भारतको कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका ७६ वर्षीय वृद्धको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको कर्नाटक राज्य सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी घोषणा गरेको छ।

भारतमा बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ पुगेको छ । यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ।

corona_virus_in_india

कोरोनाको प्रकोप महामारीको रुप : विश्व स्वास्थ्य सङ्गठन : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ । बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलनमा सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न सकिने बताएका हुन् ।

world_health_chief

महानिर्देशक गब्रराइससले अहिले विश्वमा देखिएको गम्भीर प्रकोपबाट आफूहरु चिन्तित भएको बताए । उनले महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भएकोले जहाँ पायो त्यही प्रयोग गर्न नहुने भन्दै कोरोनाको सङ्क्रमणले भने महामारीको रुप लिएको डब्ल्यूएचओले मूल्याङ्कन गरेको बताए । विश्वमा यस किसिमको महामारी पहिलोपटक देखिएको भन्दै उनले यो कोरोना भाइरसले नै सिर्जना गरेको जानकारी दिए । चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ ।

एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् । ६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन् । पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाले ज्यान गुमाएका छन् भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् ।

चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । यसैबीच इटलीमा खाद्यान्न भण्डार र औषधि पसल बाहेक सबै व्यवसाय बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण यात्रामा देशव्यापी प्रतिबन्ध लगाएको इटलीले थप प्रतिबन्धको घोषणा गर्दै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसायमा रोक लगाएको बीबीसीले जनाएको छ ।

यसलाई युरोपमा अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध भनिएको छ । घरमै सामान पुर्‍याउने सेवालाई भने अनुमति दिइएको छ । प्रधानमन्त्री जुसेफ कोन्टेले इटलीमा भाइरसको नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाले थप कडाइ गरिएको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार