काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताउनुभयो ।

आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने छ भन्दै एमसिसीको विस्तृत रूप ९फुलफर्म० थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गर्नुभयो ।

उहाँले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताउनुभयो ।

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै उहाँले पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने बताउनुभयो । दुर्इ वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गर्नुभयो ।

जनताको वर्षौदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको छ भन्दै उहाँले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताउनुभयो । Comment Latest Updates

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार