काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकले वार्ताबाट कुनै परिणाम ननिस्कने समेत जिकिर गरे ।

‘कालापानी नेपालमा भावनात्मक (इमोसनल) इस्यु भएको छ । हामी पनि चीनका विषयमा इमोसनल हुन्छौँ । सीमाका विषयमा यो स्वाभाविकै हो,’ निवर्तमान राजदूत रायले दिल्लीमा शुक्रबार फोरम फरक इनोभेटिभ रिसर्च एन्ड कन्स्ट्रक्टिभ डायलगद्वारा आयोजित कार्यक्रममा भने, ‘अहिले नेपाल र भारतमा बलियो र राजनीतिक इच्छाशक्ति भएका सरकार छन् ।

संवादको वातावरण बनाएर विद्यमान कूटनीतिक संयन्त्रलाई अघि बढाउनु पर्छ ।’ नेपाल र भारतका सबै तह र तप्काबीच संवाद सघन बनाउनुपर्ने पनि उनको भनाइ थियो । पूर्व राजदूत जयन्तप्रसादले तीन दशकअघि नेपाल र भारतका नेताहरूबीच परस्पर सम्बन्ध रहेको तर अहिले राजनीतिक तहमा सम्पर्क टुटेको टिप्पणी गरे । ‘२५–३० वर्षअघि जस्तो नेपाल र भारतका नेताहरूबीच परस्पर सम्बन्ध टुटेको छ, हाम्रो सामाजिक राजनीतिक सम्बन्ध सघन बनाउनुपर्छ,’ जयन्तप्रसादले भने ।

नेपाल–भारत सम्बन्धका जानकार प्राध्यापक एसडी मुनीले कालापानीका विषयमा भारतले निकालेको नक्साको नेपालमा विरोध भएको उल्लेख गर्दै यसले सम्बन्ध बिग्रिने टिप्पणी गरे । ‘विदेश सचिवस्तरीय बैठक बसेर छलफल गर्ने एउटा कूटनीतिक प्रक्रिया सुरु भइसकेको छ । यसमा समय लाग्छ’, मुनीले टिप्पणी गरे । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले परिवर्तनलाई नेपाल र भारत दुवैले आत्मसात गर्नुपर्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार