काठमाडौं । लामो चर्चापछि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार राति मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी हुन् । नयाँ थपिएका मन्त्रीले बिहीबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौ जना नयाँ सदस्य ल्याएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्री गरी नौ जनालाई नै बिदाइ गरेका छन् । दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।

हृदयश त्रिपाठीः मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन

लामो समय मधेस केन्द्रित दलबाट राजनीति गरेका त्रिपाठी नेकपाको ‘सूर्य’ चिन्ह लिएर २०७४ सालको संसदीय चुनावमा नबलपरासी–५ बाट निर्वाचित भएका थिए । स्वतन्त्र राजनीतिक समूह बनाएर संगठित हुने प्रयास गरेका त्रिपाठी पछिल्लो समय सरकारको आलोचना गर्नेमध्येका एक नेता थिए । पटक–पटक मन्त्री भइसकेको त्रिपाठीले लालाबाबु पण्डितलाई प्रतिस्थापन गरे । त्रिपाठी मन्त्रिपरिषद्को छैठौं वरीयतामा छन् ।

धनश्याम भुषालः मन्त्री, कृषि तथा पशुपंक्षी

सरकारको चर्को आलोचक भुषालले पनि दोस्रो पटक मन्त्रिपरिगाद्मा प्रवेश पाएका छन् । २०७२ को चुनावमा राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल रुपन्देही–३ बाट प्रतिनिभिसभामा निर्वाचित भएका थिए । यसअघि २०६७ सालमा झलनाथ खनालको प्रधानमन्त्रित्वमा बनेको सरकारमा भुसाललाई ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मन्त्री’ बनाइएको थियो । मन्त्रिपरिषद्को नवौं बरियतामा रहेका भुषालले पूर्वमाओवादीका नेता चक्रपाणि खनाललाई विस्थापित गरेका हुन् ।

लेखराज भट्टः मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

भावी सभामुखका रुपमा चर्चा गरिएका कैलाली–४ का प्रतिनिधिसभा सदस्य भट्ट तेस्रो पटक मन्त्री बनेर सिंहदरवार छिरेका हुन् । उनी पहिलो संविधानसभा निर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रम र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । पूर्वमाओवादीकै नेता मातृका यादवलाई प्रतिस्थापन गरेका भट्ट मन्त्रिपरिषद्को एघारौं बरियतामा छन् ।

रामेश्वर राय यादवः मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

गोकर्ण विष्टलाई हटाएर उनको ठाउँमा रामेश्वर राय यादवलाई ल्याइएको हो । तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट चुनाव जितेका यादव यसअघि तीन पटकसम्म मन्त्री भइसकेका छन । उनी पहिलो पटक २०५२ सालमा कानुनमन्त्री भएका थिए । त्यसपछि समाज कल्याण र वनमन्त्री भए । यादवलाई मन्त्रिपरिषद्को चौधौं बरियता दिइएको छ ।

बसन्तकुमार नेम्वाङः भौतिक पूर्वाधार तथा यातायात

पाँचथरबाट प्रतिनिभिसभा निर्वाचित नेम्वाङ तत्कालिन एमालेका पुराना नेता हुन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ निकट उनी २०४८ र २०५६ सालमा समेत सांसद निर्वाचित भएका थिए । जलविद्युत क्षेत्रका लगानीकर्ता समेत रहेका नेम्वाङले तत्कालिन एमालेका रघुवीर महासेठलाई विस्थापित गरेका हुन् । पहिलो पटक मन्त्री हुने अवसर पाएका नेम्वाङले महत्वपूर्ण मन्त्रालय पाएका छन् । तत्कानिल एमालेका रघुवीर महासेठलाई प्रतिस्थापन गरेका नेम्वाङ मन्त्रिपरिषद्को एक्काइसौं बरियतामा छन् ।

पार्वत गुरुङ, मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

गुरुङ तत्कालिन एमालेका उम्मेदवारका रुपमा दोलखाबाट निर्वाचित हुन् । उनले २०७० को संविधानसभा चुनाव पनि दोलखाबाट जितेका थिए । जटिबुटी व्यापार र कृषि उद्यममा पनि संलग्न रहेका गुरुङले पहिलो पटक मन्त्री हुने अवसर पाएका हुन् । केही समयअघि मात्रै ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएका उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तत्कालिन एमालेकस् थममाया थापालाई विस्थापित गरेका गुरुङ मन्त्रिपरिषद्को २२ औं बरियतामा छन् ।

प्रधानमन्त्रीले तीन जना राज्यमन्त्री पनि नियुक्त गरेका छन् । मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति, नवराज रावत स्वास्थ्य तथा जनसंख्या र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री भएका हुन । यसअघि स्वास्थ्यमा सुरेन्द्र यादव, कृषिमा रामकुमारी चौधरी र पर्यटनमा धनबहादुर बुढा राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा सरुवा गरेर स्वास्थ्य मन्त्रालयमा भानुभक्त ढकाललाई ल्याइएको छ । सरकारमा यादव र ढकालको मात्रै जिम्मेवारी साटफेर भएको हो । अहिले विदेश भ्रमणमा रहेका यादवको पछिल्लो समय प्रधानमन्त्री ओलीसँग सम्बन्ध बिग्रिएको बताइएको छ । जिम्मेवारी हेरफेरबारे यादव स्वदेश फर्किएपछि मात्रै पार्टीगत धारणा सार्वजनिक गरिने समाजवादी पार्टीले जनाएको छ ।

राज्यमन्त्रीसहित सात मन्त्री हटाएर प्रधानमन्त्री केपी ओलीले नौ मन्त्री भित्र्याउँदा पुनःगठित मन्त्रिपरिषदमा नयाँ ६ मन्त्री र तीन राज्यमन्त्री आएका छन् । कार्य सम्पादन मूल्यांकनका आधारमा मन्त्री फेरिएको भनिएपनि प्रधानमन्त्रीले स्पष्ट आधार भने खुलाउन सकेका छैनन् । बिना मगरको थमौती तथा गोकर्ण विष्ट र लालबाबु पण्डितको बहिर्गमनलाई जनस्तरले पनि रुचाएको छैन ।

रघुवीर महासेठः भौतिक पूर्वाधार तथा यातायात

सरकारले अघिल्लो आर्थिक वर्षमा गरेका सबैभन्दा उपलब्धिमूलक काममध्ये प्रधानमन्त्रीले सडक पूर्वाधारलाई प्रमुख मानेका छन । सरकारी आंकडाअनुसार गत एक वर्षमा १ हजार ६ सय किलोमिटर सडक कालोपत्रे भयो । दुई सय ४३ पुलको निर्माण सकियो । त्योभन्दा अघिल्लो वर्ष नौ सय चार किलोमिटर सडक कालोपत्रे भएको थियो भने ८२ पुल निर्माण भएका थिए । तर, मन्त्रालयले गरेको कामलाई प्रधानमन्त्रीले सरकारको उपलब्धि ठाने पनि मन्त्री भने अयोग्य ठहरिए । सरकारी आंकडाले प्रगति देखाए पनि सिण्डिकेट अन्त्यमा ध्यान नदिएको र काम नगर्ने ठेकेदारलाई कारबाही नगरेको भन्दै महासेठको जनस्तरबाट भने आलोचना भइरहेको थियो ।

गोकर्ण विष्टः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

नयाँ युगको सुरुवात भन्दै राजधानीका सबै बिजुलीको पोलमा प्रधानमन्त्रीको तस्बिर टाँसेर एक वर्षअघि १४ मंसिरमा भव्य रूपमा सामाजिक सुरक्षा कोष घोषणा गरिएको थियो । योजनाअन्तर्गत पाँच हजार रोजगारदाता कम्पनीका ६६ हजार चार सय नौ श्रमिक आबद्ध भइसकेको सरकारको दाबी छ । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पनि सरकारले ऐतिहासिक मानेको छ । ६ सय ४६ स्थानीय तहका एक लाख ८८ हजार तीन सय ४६ जनालाई औसत १३ दिनको रोजगारी दिएको सरकारको दाबी छ । अझ मलेसिया, जापान र युएईमा शून्य लागतमा कामदार पठाउने सम्झौता भएकोमा प्रधानमन्त्रीले गर्व गरेका छन । तर, यसको जस भने मन्त्री विष्टले पाएनन् । विदा नै हुनु प¥यो ।

लालबाबु पण्डितः संघीय मामिला तथा सामान्य प्रशासन

सरकारकै भनाइअनुसार ‘जटिल मानिएको’ कर्मचारी समायोजन सफल भएको छ । तर, सामान्य प्रशासनन्त्री पण्डित भने असफल मानिए । स्थानीय तहको स्वीकृत दरबन्दी ६६ हजार नौ सय आठमध्येमा ४३ हजार आठ सय सात समायोजन भएको छ । त्यस्तै, स्थानीय तहमा अपुग २३ हजार तीन सय ९९ कर्मचारीमध्ये १३ हजार ६ सय ४५ पदपूर्तिका लागि लोकसेवाको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । तर, प्रदेशमा स्वीकृत २१ हजार तीन सय ९९ दरबन्दीमध्ये १३ हजार आठ सय २१ कर्मचारी समायोजन भइसकेको र बाँकी पदपूर्ति गर्न प्रदेश लोकसेवा गठन भइसकेको विषयलाई पनि प्रधानमन्त्रीले उपलब्धि मानेका थिए । तर, मन्त्री पण्डितले यसको जस पाएनन् । मन्त्रिपरिषद्बाट अलग हुनु प¥यो ।

मातृका यादवः उद्योग, वाणिज्य तथा आपूर्ति

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनलाई प्रधानमन्त्रीले ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्  । त्यस्तै, एक वर्षमा आयात १३ दशमबल ९५ मा सीमित गरेको र निर्यात १९ दशमलब ४५ वृद्धि गरिएको भन्दै प्रधानमन्त्रीले औद्योगिक उत्पादन बढेको दाबी गरेका थिए । त्यस्तै, नवलपरासीको धौवादीमा फलाम खानी सञ्चालन गर्न सरकारले कम्पनी स्थापना गरेकामा पनि प्रधानमन्त्रीले स्वाभाविक रूपमा जस लिएका छन । भेहिकल कन्साइन्मेन्ट ट्याकिङ प्रणाली लागू गरिएकोमा ३० हजारभन्दा बढी फर्म यो सञ्जालमा जोडिएको विषयलाई प्रधानमन्त्रीले जस लिएका छन । तर, अपजस भने मन्त्री यादवले पाए । र, सरकारबाट विदा हुनुप¥यो ।

चक्रपाणि खनालः कृषि तथा पशुपंक्षी

२० वर्षे कृषि विकास रणनीति ल्याएर सरकारले नेपालको कृषि क्रान्तिमा नयाँ आयाम थपेको दाबी गरेको छ । यो रणनीतिले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, रोजगारी अभिवृद्धि गर्ने, खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने सरकारको विश्वास छ । त्यस्तै, दुई हजार सात सय ७६ कृषि उत्पादन केन्द्र (पकेट), तीन सय ३६ व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), ६९ व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र १४ बृहत् व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) सञ्चालनमा ल्याएको भन्दै प्रधानमन्त्रीले सरकारको कामको प्रशंसा गरेका छन । सरकारको भाषामा नौलो काम गरेका मन्त्री खनाललाई भने प्रधानमन्त्रीले पदमुक्त गरिदिए ।

थममाया थापाः महिला, बालबालिका तथा समाजकल्याण

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गरेको कामलाई सरकारले महत्वपूर्ण मानेको छ । हिंसा प्रभावित महिलाको राहत, उद्धार र पुनस्र्थापनाका लागि नमुना कार्यविधि तयार गरेर सामाजिक न्यायमा नयाँ अभियान सुरु गरेको सरकारको दाबी छ । जोखिममा परेका गर्भवती र सुत्केरीलाई सरकारले हेलिकोप्टरबाट उद्धार गरेको विषयलाई सरकारले उपलब्धि मानेको छ । सडक बालबालिकाको उद्धार तथा पुनस्र्थापना कार्यक्रम मन्त्रालयकै नेतृत्वमा सुरु भएको भन्दै प्रधानमन्त्रीले अब सडकमा सुत्नुपर्ने दिन समाप्त भएको घोषणा गरेका थिए । सामाजिक न्यायका लागि नयाँ काम सुरु भएको दाबी गर्दै प्रधानमन्त्रीले महिला मन्त्रीलाई भने बिदा गरेर पुरुष ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार