एकपछि अर्को गर्दै परिवारका सदस्यको निधन भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ, न कुनै खुसियाली

धनकुटा — कुनै दैवी विप*त्ति वा दुर्घ*टनाबिना छोटो अवधिमा एकै परिवारका धेरैको निधन हुनुलाई अनौठो संयोग मान्न सकिन्छ । यहाँका एकै परिवारले वर्ष दिन नबित्दै परिवारका नौ सदस्य गुमाउनुपरेको छ ।

चौबीसे गाउँपालिकाका बराल परिवारले एक वर्ष नपुग्दै नौ जना आफन्त गुमाएका छन् । एकपछि अर्को गर्दै परिवारका सदस्यको निधन भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ, न कुनै खुसियालीको अवसरमा रमाउन पाएको छ ।

स्थानीय रेवतीप्रसाद, चिरञ्जीवी र लीलानाथ सहोदर दाजुभाइ हुन् । ७० वर्षका साइँला रेवतीको निधन भएको ६ महिना नपुग्दै ७४ का माहिला चिरञ्जीवी र दुई महिनापहिले ६४ वर्षका अन्तरे लीलानाथको निधन भयो । सबैको एकै प्रकारको स्वास्थ्य समस्या रहेको परिवारजनले जनाएको छ । अधिकांश श्वासप्रश्वासबाट ग्रसित रहेको परिवारका सदस्य घनश्याम बरालले बताए ।

दुई महिनाअघि ५९ वर्षकी बुहारी यमुनादेवी र ६० वर्षीया गायत्राको पनि कालगतिले निधन भयो । गत साउन महिनामा मात्र बालकदेखि ज्येष्ठ सदस्यसमेतले ज्यान गुमाएका छन् ।

उक्त महिना सोही परिवारका ३ जनाको लगातार निधन भयो । निधन हुनेमा १३ वर्षका सुदीप, ८२ का खेमप्रसाद र ७० की
सेतीकुमारी छन् । सुदीपको ब्लड क्यान्सरले ज्यान गएको छ भने अन्यको श्वासप्रश्वासको समस्याले निधन भएको जनाइएको छ ।

तीन महिनाअघि ज्वाइँ नारायणप्रसाद पोख्रेलको पनि निधन भएपछि परिवारले शोकैशोकमा दिन बिताउनुपरेको घनश्याम बताउँछन् । ‘हामी त यो शृंखलाले मर्माहत भएका छौं,’ उनले भने, ‘कहिल्यै यस्तो नियति भोग्नुपरेको थिएन ।’ पत्नी गुमाएका ६५ वर्षीय खड्गप्रसाद पनि यो उमेर आइपुग्दासम्म यस्तो सामना कहिल्यै गर्नु नपरेको बताउँछन् ।

उनले भने, ‘जस्तो अवस्थामा पनि धैर्यगर्नैपर्ने रहेछ ।’ ‘वर्ष नबित्दै नौ जना गुमाउँदा अत्यास नै लागिसकेको छ ।’

कल्पनाभन्दा बाहिरको घटनाले दिनरात पिरोलिरहेको उनको भनाइ छ । निधन हुने सबै एकै दाजुभाइका सन्तान तथा कुटुम्ब भएको खड्गप्रसादले बताए ।

ठूलो भूकम्प र कैयौं लामो सवारी यात्रामा पनि उक्त परिवारले यसरी सदस्य गुमाएका थिएनन् । तर कालगतिले एकपछि अर्को सदस्य गर्दै नौ जना गुमाउनुपर्दा अधिकांश परिवार चिन्तित रहेको धनेश बरालले बताए ।

उनले चार दाजुभाइमध्ये दुई दाजु र एक भाइलाई यसै वर्ष गुमाएका छन् । ‘हामी चार जनामध्ये वर्ष दिन नबित्दै तीन जनालाई गुमाउन पुगेका छौं,’ यो खबर रमेशचन्द्र अधिकारीले कान्तीपुरमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार