images
   १७ आश्विन २०७६, शुक्रबार ०७:४५  
image

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएकी रोशनी शाही आफै प्रमाण मेटाउन सक्रिय भएकी छिन् । आरोप लगाएर १२ असोजको साँझ प्रहरीलाई मौखिक उजूरी दिएको भोलिपल्ट मिडियालाई अन्तवार्ता दिई घटनास्थल, महरासँग आफ्नो सम्बन्ध र जर्बजस्ती भएको, झडप भएको बताएकी उनले १५ असोजमा प्रहरीमा फरक निवेदन दिइनन् ।

आफूलाई जर्बजस्ती नगरिएको र महरा निर्दोष रहेको निवेदन दिएपछि घटनाले नयाँ मोड लियो । रोशनी आफैले लगाएको आरोपको खण्डनमात्र गरिनन् धमाधम प्रमाण नष्ट गर्न लागिन् । उनको नाटकीय गतिविधिले शंका उपशंका जन्मायो । घटनाको पर्सिपल्ट १४ असोजमा आफू डिप्रेसनको रोगी भएको दाबी गरिन् । उनको अन्तवार्ता र सामाजिक सञ्जालमा पोष्ट सबै महराको पक्षमा देखिनथाल्यो । रोशनीको गतिविधिले महरालाई पक्राउ हुनबाट भने जोगायो ।

किटानी जाहेरी दिएको भए महरालाई पक्राउ गर्न प्रहरी वाध्य हुन्थ्यो । रोशनीले प्रहरीलाई चुनौती दिदैं व्यक्तिगत मामला भएकाले बयान लिन र कोठामा नआउन चेतावनी समेत दिइन् । उनी घटना थामथुम होस् भन्ने चाहन्थिन् । प्रहरीले रोशनीको उजूरी विना नै अनुसन्धान बढायो । घटनाबारे सर्वत्र चासो बढेपछि रोशनीको गतिविधि र महरा उनको कोठामा गएका हुन् होइनन्बारे छानविन गर्यो ।

प्रहरीले फेला पारेको तथ्यका आधारमा पछिल्लो कारबाही अगाडि बढेको बुझिएको छ । रोशनीले जतिसुकै प्रमाण मेटाउन खोजेपनि कठिन हुने देखिएको छ । तर, उनको स्वास्थ्यपरीक्षण गर्न तत्परता नहुनुले गम्भीर आशंका जन्माएको छ । रोशनी आफैले परीक्षण गर्न नमानेको बुझिएको छ । यस अवस्थामा प्रहरीले पनि तत्परता नदेखाउनुले सशंय जन्माएको छ । घटनामा प्रमाण मेटाउने गतिविधिहरु बढेको छ । यसमा रोशनीकै संलग्नता बढी देखिन्छ ।