३० मंसिर २०७६, सोमबार १३:५४  
image
Loading...

नेपालमा बिजुली धेरै हुन थाल्यो । अब देशमै खपत बढाउनुपर्छ भन्ने हामीले धेरै सुन्यौं । तर केही सञ्चारमाध्यममा बिजुली महँगो भएकाले उपभोक्ताले भान्सामा ग्यासको प्रयोग गरिरहेका छन् भन्ने पनि सुन्यौं ।

एकातिर देशमा बिजुली खेर जाने अवस्था आउनै लागेको तर अर्कोतिर उपभोक्ताको भान्सामा बिजुली महँगो भएको भन्ने कुराले हाम्रो ध्यान तान्यो । हामीले आफै अरु त केही गर्न सक्दैनौं, तर विभिन्न अध्ययन गरेर वास्तविक कुरा त पत्ता लगाउन सक्छौं । त्यसैले हामीले खाना पकाउँदा ग्यास महँगो हुन्छ कि बिजुली भनेर अध्ययन गर्ने निष्कर्ष निकाल्यौं ।

यसरी भयो अध्ययन

देशमा अहिले खाना पकाउनको लागि मुख्य गरी दाउरा र एलपीजी ग्यासको प्रयोग भैरहेको छ । देशका धेरै गाउँहरुमा अहिले पनि दाउरा नै भान्साको एक मात्र विकल्प हो, अर्को विकल्प नागरिकले खोजेकै छैनन् । दाउरा बाल्दा वन विनाश हुने, दाउरा बाल्दा आउने ब्राउन क्लाउडले वातावरणीय प्रभाव पर्ने र मानव स्वास्थ्यमा पनि असर गर्ने हुन्छ । देशका ५० देखि ५५ प्रतिशत नागरिकले दाउराबाटै खाना पकाउने तथ्यांक पनि आइरहेका छन् ।

तर गाउँघर होस् या शहर होस्, दाउरा र ग्यासको विकल्प बिजुलीबाट बल्ने चुल्हो अर्थात इन्डक्सन चुल्हो आइसकेको छ । तर नागरिकले महँगो भएको भन्दै इन्डक्सन चुल्होलाई ग्यास या दाउराको विकल्प अझै पनि मानेनन् । त्यसैले के ग्यास भन्दा सस्तो बिजुली होइन त ! भनेर हामीले अध्ययन गर्‍यौं । अहिले पनि कतिपयले राइस कुकरमा भात पकाइरहेका छन् ।

तर राइस कुकरमा भात मात्रै पाक्ने भयो । त्यसमाथि राइस कुकरमा पकाएको भातमा स्वाद नआउने पनि गुनासो सुनिन्छ । त्यसैले इन्डक्सन चुल्होको प्रयोग बढाउनुपर्ने देखियो र हामीले अध्ययन गर्‍यौं । केहीले त बिजुली सस्तो भनेका थिए । तर भनेर त भएन, प्रमाणित गर्नुपर्‍यो । इञ्जिनियरिङ अध्ययन संस्थानको त काम नै खोज अध्ययन/अनुसन्धान गर्ने हो । यससँग सम्बन्धित विषयका अन्योललाई चिरेर प्रमाणित गर्ने काम हो ।

२३ नोभेम्बर २०१९ अर्थात २०७६ सालको मंसिर ७ गते हामीले यसै संस्थानमा अनुसन्धान गर्‍यौं । हामीले आधा किलो जिरा मसिनो चामल ग्यास र इन्डक्सन चुल्होमा पकाउने भयौं । त्यो दिन भात पकाउने कोठाको तापक्रम १७ डिग्री सेल्सियल्स थियो । हामीले भात पकाउनुअघि ग्यासको तौल पनि लियौं । किनकी भात पाकेपछि कति ग्यास खर्च भयो भनेर हामीले लागत निकाल्नुपर्ने थियो । उही ब्राण्डका उस्तै साइजका अनि उत्ति नै तौल भएका दुईवटा कुकरमा आधा किलोको दरले हामीले चामल राख्यौं । दुई वटा कुकरमा उत्ति नै पानी पनि राख्यौं । एउटा कुकर इन्डक्सन चुल्होमा राख्यौं, अर्कोलाई ग्यास चुल्होमा राख्यौं । इन्डक्सन चुल्होमा राखेको कुकरमा ७ मिनेटमा २ सिट्ठी लाग्यो । तर ग्यास चुल्होमा राखेको भातमा २ सिट्ठी लाग्न ११ मिनेट लाग्यो ।

आधा किलो चामल पाक्न २५ ग्राम एलपिजी ग्यास खर्च भएछ । हामीले अहिले १४ दशमलव २ किलोको ग्यास सिलिण्डरको मूल्य १४ सय पर्छ । यही मूल्यअनुसार २५ ग्राम ग्यासको मूल्य निकाल्यौं । २५ ग्राम ग्यासको मूल्य २ रुपैयाँ ४६ पैसा पर्ने रहेछ । अर्थात हामीलाई आधा किलो चामल पाक्न ११ मिनेट समय र २ रुपैयाँ ४६ पैसा खर्च लाग्यो । तर त्यही आधा किलो चामल इन्डक्सन चुल्होमा ७ मिनेटमै पाक्यो ।

यसको लागि १४३ वाट आवर (एक युनिटको ५ खण्डको एक खण्ड) मात्रै बिजुली खर्च भयो । अझ बुझ्ने गरी भन्दा १ हजार वाट आवर भनेको १ युनिट हो । हाम्रो भात पाक्न जम्मा १४३ वाट आवर मात्रै खर्च भयो । नेपाल विद्युत प्राधिकरणले घरायसी उपभोक्तालाई लिने प्रतियुनिट बिजुली औसतमा १० रुपैयाँ प्रतियुनिटले हिसाब गर्दा जम्मा १ रुपैयाँ ४२ पैसा मात्रै खर्च भयो ।

ग्यासमा ११ मिनेट र २ रुपैयाँ ४६ पैसा खर्च हुँदा इन्डक्सन चुल्होमा ७ मिनेट र १ रुपैयाँ ४२ पैसा मात्रै खर्च लाग्यो । भनेपछि त यो व्यवहारिक अध्ययनले त ग्यास नै महँगो देखायो । अर्को कुरा इन्डक्नस चुल्होमा भाँडो नराखेसम्म बिजुलीको करेन्ट नै आउँदैन । बिजुली खेर जानै पाउँदैन । तर ग्यासमा त भाँडोको पिँध सानो भयो भने पनि ग्यास खेर जान्छ । भाँडो नबसाले पनि ग्यास बल्छ, खेर जाने सम्भावना धेरै हुन्छ ।

५ प्रतिशत ग्यास त खेरै जाने अनुमान छ । यसरी हेर्दा त बिजुली झनै सस्तो हुनेभयो । त्यस्तै अहिले बजारमा ३५ सय रुपैयाँ ग्यास सिलिन्डरको पर्दो रहेछ, अनि न्यूनतम २ हजारदेखि १२ हजार रुपैयाँसम्मका चुल्हो रहेछन् । इन्डक्सनको मूल्य पनि त्यस्तै रहेछ । ५ हजार रुपैयाँदेखिका इन्डक्सन चुल्हो बजारमा पाइने रहेछन् ।

अझै सहज बनाउन दुईमुखे इन्डक्सन चुल्हो

अहिले बजारमा धेरै एकमुखे इन्डक्सन चुल्हो रहेछन् । ग्यास चुल्होमा दुईतिर भाँडो राखेर एकैपटक खाना पकाउन मिल्छ तर इन्डक्सनमा त्यस्तो सुविधा रहेनछ भन्दा रहेछन् । तर बजारमा दुई मुखे इन्डक्सन चुल्हो पनि पाइने रहेछ । इन्डक्सन चुल्होमा भात पकाउने मात्र होइन, ग्यास चुल्होमा पकाउन मिल्ने सबै खानेकुरा पकाउन मिल्छ । अनि अर्को कुरा, यदि सरकारले इन्डक्सन चुल्होको प्रयोगलाई अभियान नै चलाउने हो भने सस्तोमा इन्डक्सन चुल्हो पनि भित्रिन सक्छ, नयाँ नयाँ कम्पनी पनि त आउन सक्छन् नि ।

त्यसमाथि सरकारले इन्डक्सन चुल्होमा सहुलियत दिने हो भने यसको प्रयोग झनै बढ्न सक्छ । त्यस्तै सम्भव भएसम्म अहिले कायम रहेको महसुललाई पनि सरकारले घटाइदिनु पर्छ । अहिले बिजुलीको भाउ बढाउने कुरा आइरहेको छ, त्यसले त नागरिकलाई बिजुलीका सामग्री प्रयोगमा झनै निरुत्साहित गर्छ । घरसायी ग्राहकलाई बिजुलीको भाउ अझै घटाइदिने हो भने इन्डक्सन चुल्होको प्रयोग बढ्न सक्छ । अहिले हामीले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्य गरेको भनेर निकै बधाइ दिइरहेका छौं, उहाँसँग खुसी छौं । इन्डक्सन चुल्हो प्रयोग गर्‍यौं भने कुलमान अझै सफल हुनुहुन्छ ।

४२ अर्बको ग्यास आयात घटाउन सकिन्छ

हामीले दुई वर्षअघिको तथ्यांक हेर्दा एक दिनमा नेपालमा ७२ हजार एलपीजी ग्यास सिलिण्डर खपत हुने रहेछ । त्यसलाई प्रति सिलिण्डर १४ सय रुपैयाँका दरले हिसाब गर्दा दिनको १० करोड रुपैयाँ ग्यास आयातमै बाहिरिन्छ । महिनामा हामीले ३ अर्ब र वर्षमा ३६ अर्ब रुपैयाँ ग्यास किन्नको लागि भारत जाने रहेछ । अहिले त यो बढेर ४२ अर्ब रुपैयाँ पुगेछ ।

पेट्रोलियम पदार्थ, त्यसमाथि ग्यासको आयात मात्रै केही घटाउन सकेमा देशकै लागि राम्रो हुने हो । हाम्रो ब्यापार घाटा केही भए पनि घट्छ । उदाहरणको लागि हामीले १ सय रुपैयाँको सामान बेचिरहेका छौं, तर पेट्रोलियम पदार्थ १ सय ३७ रुपैयाँका दरले किनिरहेका छौं । हाम्रो सम्पूर्ण निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात धेरै छ । यस्तो अवस्थामा हामीले हाम्रो देशमा उत्पादन भएको बिजुली उपभोग किन नगर्ने त ?

(त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रका प्राध्यापक डा. जगन्नाथ श्रेष्ठसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH