images
   १८ आश्विन २०७६, शनिबार ०७:५३  
image

बडादशैको सातौ दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष लाई फूलपातीको रुपमा भित्राउने गरिन्छ । बिद्धानहरुका अनुसार ‘सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनारको डाँठ, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैँघरमा लग्ने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ’ ।

बजारमा पनि विभिन्न बोटबिरुवालाई डोरीले बाँधेर फूलपाती भन्दै बेच्ने गरेको पाइन्छ। सर्वसाधारणहरू फूलपातीमा के के हुनुपर्छ भन्ने विषयमा बडो अन्योलमा देखिन्छन्। तर धेरैलाइ थाहा नभएको तथ्य के हो भने उखु र अदुवा फूलपातीभित्र पर्दैनन्। बडादशैँको सप्तमीका दिन प्रत्येक दशैँघरमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्माबलम्बीको पनि परम्परा हो। मैथली पूजाविधिमा पनि यसको उल्लेख छ।

सर्वसाधारणले बिहानै वा आफ्नो अनुकुलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ। काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा त गोरखा दरबारदेखि बोकेर ल्याइएको फूलपाती पञ्चाङ्ग निर्णायक समितिले निकालिदिएको साइतमा भित्र्याउने परम्परा छ। त्यसोभए के हो त फूलपाती ? अनि के महत्त्व छ त यसको ?

नव अर्थात् नौ, पत्रिका अर्थात् पत्र। फूलपातीमा नौ प्रकारका वनस्पति (का पत्र) हुने भएकाले संस्कृतमा यसलाई नवपत्रिका भनिन्छ। कदली दाडिमी धान्या हरिद्रा मानकं कचु्विल्वाशोकौं जयन्ती च विज्ञेया नवपत्रिका, अर्थात् केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई नवपत्रिका भनिन्छ। दशैँघरमा यी नौवटा वनस्पतिलाई नवरात्रको सप्तमीका दिन भित्र्याई नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ।

केराको बोटमा रम्भाधिष्ठात्रीको रूपमा ब्राह्मी, दारिममा रक्तदन्तिका, धानको बोटमा लक्ष्मी, हरिद्रामा दुर्गा, मानकको बोटमा चामुण्डा, कचुको बोटमा कालिका, बिल्वको बोटमा शिवा, अशोकको बोटमा शोकहारिणी र जयन्तीमा कार्तिकीको आवाहान गरी पूजा गरिन्छ। नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरू खाद्यपदार्थको साथै औषधीपचारमा समेत महत्वपूर्ण भूमिका खेल्छन्। प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको प्रयोग गरिन्छ।

केरा– केराको पत्रले स्नान गराउँदा ‘दुर्गे देवी समागच्छ सान्निध्यमिह कल्पय्रम्भारूपेण मे नित्यं शान्ति कुरु सदा शुभे’ भन्ने मन्त्रको प्रयोग हुन्छ। मन्त्रले दुर्गा देवीलाई ‘यस केराको पातमा आए बस्नुहोस् र सधैं शान्ति प्रदान गर्नुहोस्’ भन्ने भावार्थ बोकेको छ। नेपाली समाजमा सगुन वा माङ्गलिक वस्तुको रूपमा केराको प्रयोग गरिने केरा सबैको प्रिय फल हो। संस्कृत भाषामा कदली वा रम्भाफलको नामले प्रख्यात यो फल देवता र पितृको पनि प्रिय मानिन्छ। ठूल्ठूला मांगलिक कार्यमा यज्ञमण्डपमा केराको बोट राख्नैपर्छ, नैवैद्यको रूपमा फलको प्रयोग गर्नैपर्छ। यसैगरी दशैको दही च्यूरामा पनि ठाउँअनुसारका स्थानीय केराको प्रयोगले स्वाद थपिन्छ। काँचो वा पाकेको फल, जरा वा काण्डको रस विभिन्न उपचारको लागि प्रयोग गरिन्छ।

दारिम– संस्कृतमा दाडिमी भनिने दारिमलाई बोलीचालीको भाषामा अनार पनि भनिन्छ। हाम्रो धर्मसंस्कृतिमा अनारलाई भगवती कालीको दाँतको प्रतीक मानिन्छ। अनार स्वादयुक्त हुनुको साथै गुणयुक्त रुचिकार फल हो। बिरामी भएर थला परेका व्यक्तिहरूलाई अनारको रस खुवाउँदा शरीरमा तागत दिन्छ। साथै विभिन्न रोगको उपचारका लागि पनि अनारको पात, बोक्रा एवं दानाको प्रयोग गरिन्छ। दारिमको पत्र चढाउँदा यो मन्त्र पढिन्छ– दाडिमि त्वं पुरा युद्धे रक्तबीजस्य सम्मुखे्उमाकार्यं कृतं यस्मात्तस्माद्दुर्गे नमोऽस्तु ते।

धान– जगतः ‘प्राणरक्षार्थं ब्रह्मणा निर्मितं पुरा्उमाप्रीतिकरं धान्यं तस्माद्रक्षतु सर्वदा। हाम्रो प्राण धान्नको लागि धानबाटै बनेको चामलको प्रयोग गरिन्छ। यसैले सम्पूर्ण जगतकै प्राण रक्षा गर्ने भएकोले धानलाई प्राणेश्वरी अथवा ब्रह्म पनि भनिन्छ। संस्कृतमा धान्य भनिने धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ। नेपाली समाजमा धानको महत्व ठूलो छ। खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञयज्ञादि धानद्वारा निर्मित चामलकै प्रयोग गरिन्छ। देवताहरूको पूजा गर्ने र विजयादशमीको टीका समेत धानबाटै निर्मित अक्षताबाट लगाइन्छ।

बेसार– हाम्रो दैनिक प्रयोगमा बेसारको स्थान महत्त्वपूर्ण छ। संस्कृतमा हरिद्रा भनिने बेसारविनाको दाल, तरकारी र अचार रङ्गहीन एवं स्वादहीन हुन्छ। यसको प्रयोग औषधोपचारमा समेत गरिन्छ। आँखा दुख्ने, छालाका रोग लगायतका घाउ चोट पटकमा यसको गानोको रसको प्रयोग गरिन्छ। गाउँघरमा रूघाखोकी लाग्दा बेसार पानी पकाएर औषधीको रूपमा प्रयोग गरिन्छ। यसको औषधीयुक्त गुणले गर्दा भारतले विभिन्न औषधीहरूमा यसको प्रयोग गर्ने गरेको छ। क्यान्सरको उपचारमा समेत यसको प्रयोग गर्न सकिने वैज्ञानिक खोजले बताएका छन्। त्यसैले हरिद्राको पत्रले स्नान गराउँदा यस्तो मन्त्रको प्रयोग हुन्छ– ‘हरिद्रे वरदे देवि उमारूपासि सुव्रते्मम विघ्नविनाशाय पूजां गृह्ण सुरोत्तमे।’

मानक– ‘यस्य पत्रे वसेद्देवी मानवृक्ष शचिप्रिय, मम चानुग्रहार्थाय पूजां गृह्ण यथासुखम्।’ मानक अर्थात् कर्कलोलाई कन्दमूलको वर्गमा लिइन्छ। कर्कलोको गानो (पिँडालु) लगायतका कन्दमूल हाम्रा चाडपर्वमा प्रयोग भइरहन्छन्। एकादशी व्रत र ऋषिपञ्चमी जस्ता व्रतका लागि कर्कलो र पिँढालु फलाहार मानिन्छन्। नेपालको कतिपय अन्न कम्ती हुने भू–भागमा मानिसहरूले यस प्रकारका कन्दमूललाई खाद्यवस्तुको रूपमै प्रयोग गर्ने गर्दछन्। कर्कलोमा एक प्रकारको कोक्याउने अथवा चिलाउने रासायनिक तत्वहरू हुन्छन्। कर्कलोलाई पनि औषधीय वस्तुको रूपमा पनि प्रयोग गरिन्छ। रक्तशोधन एवं पित्तशोधन आदि उपचारको लागि कर्कलोको प्रयोग लाभदायक मानिन्छ।

हलेदो– संस्कृत भाषामा कर्चुर भनिने हलेदोको बोट अदुवा वा वेसारको जस्तै देखिन्छ। यो निकै वास्ना सुगन्धित वस्तु बनाउने काममा यसको प्रयोग गरिन्छ। परम्परागत रूपमा नेपाली समाजमा यसको गानाको लेदो बनाई शरीरमा लगाउनाले आराम मिल्छ। चन्दनको रूपमा पनि यसको प्रयोग गरिन्थ्यो। तर हिजोआज यो चलन हराइसकेको छ। कर्चुरको पत्र चढाउँदा ‘महिषसुरयुद्धेषु कच्चीभूतासि सुव्रते्मम चानुग्रहार्थाय ह्यागतासि सुरप्रिय’ भन्ने मन्त्र उच्चारण गरिन्छ।

बेल– ‘महादेवप्रियकरो वासुदेवप्रियः सदा उमाप्रीतिकरो नित्यं बिल्ववृक्ष नमोऽस्तुते।’ श्लोकमा भनिएजस्तै भगवान् शिवजीको प्रियवस्तुको रूपमा बेललाई लिइन्छ। यसको महत्त्व आयुर्वेदिक एवं पर्यावरणीय दृष्टिले पनि उत्तिकै छ। नेवारी समुदायमा कन्या केटीहरूको विवाह बेलसँग गराइदिने परम्परा छ। तराई र पहाडी भागमा पाइने यसको रूखले वातावरणलाई स्वच्छ बनाउनुका साथै फल र पातले औषधीको रूपमा महत्त्व बोकेका छन्। पखाला, आउँ आदि रोगको साथै वीर्यवर्धक औषधीको कार्य बेलले गर्दछ। बेलको फलको गुदी वा चूर्णलाई औषधीको रूपमा प्रयोग गरिन्छ। बेलको फलबाट सर्वत बनाएर पिउनाले मस्तिष्कलाई ठण्डा बनाउनुको साथै शरीरमा स्फूर्ति ल्याउँछ।

अशोक– पहाडदेखि तराईसम्म पाइने यो सधैँ हरियो रहिरहने रूख हो। गाढा रातो फूल फुल्ने र सुगान्धित हुने अशोकमा सिमीजस्ता लामा फल फल्दछन्, जसभित्र बीज हुन्छन्। अशोकको प्रयोग औषधीको रूपमा बोक्रा फूल आदिलाई लिइन्छ। स्त्रीको गर्भाशयको कमजोरी, प्रदर, रक्तविकार आदिमा बोक्राको पाक बनाएर पिउनाले वा फूलको चूर्ण पानीसँग पिउनाले फाइदा पुग्दछ। शरीरका विभिन्न भागमा वेदना भएमा वा पोलेमा फूल वा बोक्राको लेप लगाउँदा आराम हुन्छ। यिनै गुणहरूका कारण भगवतीलाई अशोकपत्र चढाउँदा यस्तो वचन उच्चारण गरिन्छ– ‘हरप्रीतिकरो वृक्ष त्वमेकः शोकनाशनः्दुर्गाप्रीतिकरो यस्तात्तस्मात्वं रक्ष मां सदा।’ जयन्ती– ‘निशुम्भशुम्भमथने सैन्द्रैर्देवगणैः सह, जयन्ति पूजयामि त्वामस्माकं वरदा भव।’

भगवतीलाई जयन्तीले स्नान गराउँदा यो मन्त्रको प्रयोग गरिन्छ। विशेषगरी वर्षायाममा उम्रिने मासिनो लहरायुक्त जयन्तीको विरूवा अन्य विरूवालाई आधार बनाएर फैलने गर्दछन्। मसिना पात हुने लहरामा साना साना गाढा राता फूलहरू प्रशस्तै फूल्छन्। कालो स–साना बियाँ हुने यसको फलबाट उत्तेजना ल्याउने औषधी बनाइन्छ। जयन्तीको प्रयोगले श्वासप्रश्वाससम्बन्धी रोगको लागि फाइदा पुग्छ। औषधीय गुणले युक्त र जीवनका विभिन्न समयमा आवश्यक परिरहने भएकाले यी वनस्पतिहरूलाई फूलपातीमा नवदुर्गालाई चढाउने परम्परा चलेका होला। बडादशैँअन्तर्गतको यो दिनले फूलपाती दशैँघरमा भित्र्याउने र पूजा गर्नेमात्र नभई यिनको महत्त्व बुझेर संरक्षण संवर्धन गर्न प्रेरणा दिन्छन्। साथै तिनबाट वातावरणीय र औषधीय रूपमा फाइदा लिई स्वाथ्यरक्षा गर्ने सन्देश दिन्छन्।

‘फूलपाती भित्राउन साइत हेर्नु पर्दैन’

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,’ उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउनका लागि साइतको आवश्यकता नपर्ने पनि प्रा। डा। गौतम बताउँछन् ।

यो बर्ष हनुमानढोकामा ३ बजे फूलपाती भित्राइँदै

काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राहृमण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्राउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

यस वर्षको फूलपाती शनिबार अपराहृन ३ बजे भित्राइने कार्यक्रम रहेको दशैँ पर्वको संयोजन गरिरहेका समितिका कर्मचारी मिठाराम पुडासैनीले बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, काठमाडौंका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक९फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।